काठमाण्डौ : तराईका जिल्लामा फेरि शीतलहर सुरु भएको छ । गएको २४ गतेदेखि मौसममा सुधार आए पनि हिजोदेखि फेरि बाक्लो हुस्सु कुहिरोले ढाकेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार तराईका जिल्लामा हिजोदेखि मौसम खुलेको छैन । हिजो बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । यसअघि केही दिन दिउँसोसम्म हुस्सु कुहिरो लागे पनि बेलुकी पख हट्ने गरेको थियो । यसले गर्दा केही राहत मिलेको थियो । तर, पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नबन्दा फेरि शीतलहर चलेको छ । शीतलहरका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै सचेत रहन तराई मधेसका बासिन्दालाई मौसमविद्को आग्रह छ ।
यस्तै, आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मौसम पनि आंशिकदेखि सामान्य बद्ली हुने अनुमान छ । यी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा आज हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लामा भने मौसम सामान्यतया सफा नै रहने अनुमान छ ।
तपाइँको प्रतिक्रीया