काठमाडौं : सहज रुपमा बहुमत पुग्ने भएपछि वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिनुहुने भएको छ ।
उहाँ गएको सोमबार वाग्मती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । यस प्रदेशमा धेरैजसो दलहरुले मुख्यमन्त्री बनाउनका लागि समर्थन गरेकाले सहज रुपमा विश्वासको मत पनि प्राप्त गर्न सकिने भएपछि माघ ३ गते नै विश्वासको मत लिने तयारी गर्नुभएको हो ।
जम्मकट्टेल प्रदेशसभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । उहाँलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्र केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ ।
११० सदस्यीय वाग्मती प्रदेशसभामा ३७ सिट रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी र ३ सिट रहेको नपाल मजदुर किसान पार्टी मात्रै प्रतिपक्षमा छ । मंगलबार माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेको कांग्रेसले वाग्मती प्रदेश सरकारलाई समर्थन गर्न सक्ने सम्भावना देखिन्छ । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका धेरै सांसद यहाँ पनि भएकाले विश्वासको मत दिनुपर्ने आवाज उठिरहेको छ । तर, कांग्रेसले निर्णय भने गरिसकेको छैन ।
केन्द्रमा प्रधामन्त्रीलाई विश्वासको मत नदिएको नेमकिपाले भने प्रतिपक्षमा बस्ने स्पष्ट पारिसकेको छ । यदि कांग्रेसले पनि विश्वासको मत दिए उहाँको समर्थनमा १०७ मत हुनेछ। मुख्यमन्त्री जम्मकट्टेलले कांग्रेस र नेमकिपासँग पनि विश्वासको मत माग्ने तयारी गरिरहनुभएको छ ।
तपाइँको प्रतिक्रीया