२०८२ जेठ ३१ शुक्रबार

राशिफल

यती एयर विमान दुर्घटना :२२ शव आफन्तलाई बुझाइयो

काठमाडौं  :  पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारलाई बुझाइएको छ ।

पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए ।

उनका अनुसार मङ्गलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ । यसअघि मङ्गलबार नै ४८ शवलाई काठमाडौँस्थित शिक्षण अस्पताल पुर्‍याइएको थियो ।

पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव काठमाडौँमा परीक्षण सुरु भएको छ । शव क्षतविक्षत भएका कारण पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएकाले आफन्तले शव पाउन अझै केही दिन लाग्ने देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले दुर्घटनामा बेपत्ता एक व्यक्तिको खोजीकार्य भइरहेको बताए ।