काठमाडौं : बाग्मती प्रदेश सरकारले आज १४ मन्त्रालयलाई घटाएर ११ वटामा झार्ने भएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पहिले मन्त्रालय घटाएर मात्र मन्त्रिपरिषद् विस्तारको काम गरिने बताउनु भएको हो । पहिले राजेन्द्र पाण्डे नेतृत्वको सरकारले ८ वटा मन्त्रालयलाई बढाएर १४ वटा मन्त्रालय बनाउनु भएको थियो ।
अब आजदेखि भने मन्त्रालय घटाएर मात्र मन्त्रिपरिषद् विस्तारको काम सुरु गरिने जम्मकट्टेलले बताउनुभयो । आज दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलासँग मन्त्रालय घटाउने प्रतिवेदन बुझेपछि आजै मन्त्रिपरिषद्को बैठक बसेर ११ वाट मन्त्रालय कायम गरिने जम्मकट्टेलले बताउनुभयो ।
आज बेलुका पाँच बजे बस्ने मन्त्रिपरिषद्को बैठकले मन्त्रालय घटाउने निर्णय गरिने प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताउनुभयो । भोलि अथवा पर्सिमा मन्त्रिपरिषद् विस्तारको काम पनि गरिने उहाँले बताउनुभयो । कुन दलले कति मन्त्रालय पाउने र कोको मन्त्री बन्ने भन्नेकुरा उहाँले खुलाउनु भएन । सांसद सङ्ख्याका हिसाबले एमालेले सबैभन्दा धेरै मन्त्रालय पाउने बुझिएको छ ।
मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गएको पुस २६ गते मुख्यमन्त्रीको पदभार ग्रहण गरे लगत्तै बाग्मतीमा मन्त्रालय घटाउनको लागि त्यहीदिन मन्त्रालय निर्धारण गर्न समिति गठन गर्नु भएको थियो । गठित कार्यदलले प्रदेशमा रहेका मन्त्रालयको अध्ययन पश्चात् मन्त्रालय सङ्ख्या निर्धारण गर्दै मुख्यमन्त्री जम्मकट्टेललाई सुझावसहितको प्रतिवेदन आज बुझाउने र त्यही प्रतिवेदनलाई टेकेर मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने तयारी गरिएको छ ।
तपाइँको प्रतिक्रीया