२०८२ जेठ २१ मङ्गलबार

राशिफल

डोनाल्ड ट्रम्पको निलम्बन फुकुवा

फेसबुक र इन्स्टाग्राम सञ्चालन गर्ने प्रविधि कम्पनी मेटाले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको निलम्बन फुकुवा गर्ने घोषणा गरेको छ । यो घोषणासँगै ट्रम्प फेसबुक र इन्स्टाग्राममा फर्किन पाउनुहुने भएको छ । मेटाका अनुसार दुई वर्ष अगाडि गरिएको निलम्बन आउँदो हप्ता समाप्त हुनेछ ।

मेटाका उच्च अधिकारी निक क्लेगले नागरिकले उनीहरुका राजनीतिज्ञहरूले के भनिरहेका छन् भन्ने जान्न पाउनुपर्ने बताउनुभएको छ । सन् २०२१ मा अमेरिकी संसद् भवन क्यापिटलमा दङ्गा भएपछि ट्रम्पलाई फेसबुक र इन्स्टाग्रामबाट अनिश्चितकालका लागि निलम्बन गरिएको थियो ।

ट्रम्पको सामाजिक सञ्जाल खाताको समीक्षा गर्दा त्यसले अब सार्वजनिक सुरक्षामा गम्भीर जोखिम नपर्ने देखिएको क्लेगलाई उद्धृत गरी बीबीसीले जनाएको छ । तर ट्रम्पले विगतमा गरेका गल्ती पुनः गरेमा थप कारबाही हुनसक्ने जनाएको छ ।