काठमाण्डौ : लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेचरनले थप ७ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।
माओवादी संसदीय दलका नेता जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री, माओवादीका इन्द्रजित थारु भौतिक पूर्वाधार विकासमन्त्री र एमालेका विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री बन्नुभएको छ । यस्तै माओवादीकी कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री, एमालेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरणमन्त्री, राप्रपाका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्थामन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्रीमा नियुक्त भएको छ ।
विनाविभागीय मन्त्री कृष्ण केसीले भौतिक पूर्वाधार मन्त्रालय नपाएपछि हिजो राजीनामा दिएको खबर सार्वजनिक भएको थियो । तर उहाँलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मा दिइएको छ । मन्त्रीहरुको शपथ ग्रहण आज दिउँसो १ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
तपाइँको प्रतिक्रीया