२०८२ असार १ आइतबार

राशिफल

महाशिवरात्रि : सात लाख भक्तजनद्वारा पशुपतिको मूल मन्दिरको दर्शन

काठमाण्डौ  :  महाशिवरात्रिका अवसरमा हिजो सात लाख भक्तजनले पशुपतिको मूल मन्दिरको दर्शन गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार हिजो मूल मन्दिरको सात लाख भक्तजनले दर्शन गरेका थिए । यस्तै, मन्दिर परिसरमा भने झण्डै १५ लाख भक्तजन पुगेका अनुमान गरिएको छ ।

पशुपतिनाथ मन्दिरको दर्शनका लागि हिजो बिहान ३ बजेदेखि नै लाइन लागेको थियो । दर्शनार्थीका लागि हिजो पाँच वटा लाइनको व्यवस्था गरिएको थियो । दर्शनार्थीले हिजो लामो लाइनमा बस्नु परेको गुनासो गरेका थिए । तर, पशुपति क्षेत्र विकास कोषले भने हिजो लाइन व्यवस्थित भएको दाबी गरेको छ ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले दर्शनार्थीको भिड बढ्दा लाइन लामो भएको बताउनुभयो । उहाँले दर्शनार्थीले सजिलै दर्शन गर्न पाएका दाबी गर्नु भएको छ । तर, दर्शनार्थीले हिजो दुई घण्टासम्म लाइन बस्नु परेको गुनासो गरेका थिए ।

शिवरात्रिका अवसरमा दर्शनार्थीबाट १५ लाखभन्दा धेरै भेटी सङ्कलन भएको पनि अनुमान गरिएको छ । मन्दिरमा चढाइएको भेटीको गणना आज हुनेछ । भक्तजनको सङ्ख्याको आधारमा १५ लाखभन्दा धेरै भेटी सङ्कलन भएको अनुमान गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो । उहाँका अनुसार महाशिवरात्रिका अवसरमा पशुपति आएका साधु सन्तको बिदाइ भोलि गर्ने तयारी छ ।