२०८२ जेठ २१ मङ्गलबार

राशिफल

स्पट फिक्सिङमा महबुबसहित ५ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं  : राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहमद आदिल आलम, पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसहित ५ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानको आधारमा जिल्ला वकिलको कार्यालय, काठमाडौंले अदालतमा मुद्दा दायर गरेको जिल्ला न्यायाधिवक्ता अच्युतमणि नेउपानेले अनलाइनखबरलाई बताए ।

नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको आशंका सार्वजनिक भएपछि ब्यूरोका डीएसपी सुन्दर तिवारीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । समितिले गरेको अनुसन्धानका क्रममा १२ जनाको संलग्नता पुष्टि भएको प्रहरीले बताएको थियो ।

तीमध्ये आलमद्वयसहित वीरगञ्जका स्थानीय क्रिकेट खेलाडी नितेश गुप्ता पक्राउ परेका थिए । सरकारी वकिलको कार्यालयका अनुसार काठमाडौं नाइट्स टिमका को–वोनर नविन कँडेल र सप्तरीका रवि माझीलाई पनि फरार प्रतिवादीका रुपमा मुद्दा दर्ता गरिएको छ ।

बाँकी ७ जनाको नाम, थर र वतन खुलेपछि मुद्दा दायर गरिने नेउपानले बताए । उनीहरुविरुद्ध राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१, ३२ र ३३ अनुसार कारबाही गर्न माग दाबी गरिएको छ ।