काठमाण्डौ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गर्नुभएको छ । आज दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।
एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई गएको माघ २६ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । तर माओवादी र नागरिक उन्मुक्ति पार्टीको आ–आफ्नै अडानले मुख्यमन्त्री शाह अप्ठ्यारोमा पर्नुभएको छ ।
माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने जनाएको छ । हिजो बसेको संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको संसदीय दलका नेता खगराज भट्टले बताउनुभयो ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि लिखित सहमति विनाविश्वासको मत नदिने अडान लिएको छ । यसअघि नागरिक उन्मुक्ति पार्टीले मत नदिएकै कारण एमाले नेतृत्वको सरकार ढलेको थियो । नागरिक उन्मुक्ति पार्टीले फेरी पनि लिखित प्रतिबद्धता मागेको हो ।
तपाइँको प्रतिक्रीया