२०८२ असार ४ बुधबार

राशिफल

पौडेलले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्नुहुने

काठमाण्डौ  :  नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्नुहुने भएको छ ।

आज दिउँसो १ बजे राष्ट्रपति कार्यालयमा विशेष समारोहकासाथ पौडेलले शपथ ग्रहण गर्ने कार्यक्रम छ।

संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुन अनुसार प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

नवनिर्वाचित राष्ट्रपति पौडललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुहुने छ ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले शपथ लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आज शीतल निवास छाड्नुहुने भएको छ ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नयाँ राष्ट्रपतिको शपथ ग्रहणपछि राष्ट्रपति भण्डारी निजी निवास सर्ने कार्यक्रम तय भएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले हिजो आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतल निवासमा शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गर्नुभएको छ ।