२०८२ जेठ २२ बुधबार

राशिफल

केहि कानूनहरुलाई संशोधन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं  : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक रुपान्तरणका लागि सांस्कृतिक आन्दोलनका साथै केहि कानूनहरुलाई संशोधन जरुरी रहेको बताउनुभएको छ ।

बुधबार राष्ट्रियसभा बैठकमा समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले विभेद र उत्पीडनहरुको अन्त्यका लागि बैधानिक र कानूनी रुपमा मात्रै समाधान खोज्न खाजे समस्या सिर्जना हुने भन्दै यसका लागि लागि सांस्कृतिक आन्दोलनका साथै केहि कानूनहरुलाई संशोधन जरुरी रहेको बताउनुभएको हो ।

उहाले संविधानमा भएको सकारात्मक कुरालाई उल्टाउने कसरत भइरहेको र यसले दलित र उत्पीडनमा परेकाहरुको अधिकारमा पनि असर पर्न सक्ने भएकाले सवै सचेत रहनुपर्ने धारणा राख्नुभयो । दलित समूदायमाथि हुने बिभेद अन्त्य गर्नका लागि कानूनलाई कडा पार्ने र कार्यान्वयन प्रक्रियामा ध्यान दिने उहाले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले आधुनिक युग अनुसार मुलुकलाई आर्थिक समृद्धिको बाटोतर्फ अघि बढाउदै गर्दा विभेद र उत्पीडनहरुको क्रमशः अन्त्य हुदै जाने विश्वास व्यक्त गर्नुभयो ।
त्यसअघि उक्त प्रस्तावमाथिको छलफलमा लिदै राष्ट्रियसभा सदस्यहरुले संविधान र कानुनमा व्यवस्था भएबमोजिम सार्वजनिक स्थानमा हुने भेदभावलाई न्यूनीकरण गर्दै कानुनको प्रभावकारी कार्यान्वयन गराउन माग गरेका थिए । बैठकले संकल्प प्रस्तावलाई सर्वसम्मतले पारित गरेको छ भने संकल्प प्रस्तावमा रहेका बिषयहरुलाई कार्यान्वयन गर्न बैठकले सरकारलाई निर्देशन दिएको छ ।