२०८२ असार २ सोमबार

राशिफल

उपचुनाव हुने तीन जिल्लामा आजदेखि आचारसंहिता लागू

काठमाण्डौ  :  आउँदो वैशाख १० गते उपचुनावका लागि चितवन, बारा र तनहुँमा आजदेखि आचारसंहिता लागू भएको छ ।

सरकारका मन्त्री, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उनीहरुका भ्रातृ सङ्गठन, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मी, शिक्षक लगायतलाई आचारसंहिता लाग्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले आचारसंहिता प्रभावकारी कार्यान्वयन गर्नरगराउन पनि निर्देशन दिएको छ ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिको हिजोको बैठकले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नरगराउन गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय एवं सम्बन्धित जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

बैठकले बारा क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र चितवन क्षेत्र नं २ मा उम्मेदवारले खर्च गर्न पाउने निर्धारित अधिकतम खर्चको हदभित्र रही खर्च गरे नगरेको समेतका विषयमा सुक्ष्म निगरानी गरी त्यसको जानकारी आवश्यकताअनुसार लिखित एवं मौखिक रुपमा आयोगलाई गराउन पनि निर्देशन दिएको छ ।

आउँदो बैशाख १० गते चितवन २ , तनहुँ १ र बारा २ मा उपचुनाव हुँदैछ ।