काठमाण्डौ : भक्तपुरमा आजदेखि बिस्केट जात्रा सुरु हुँदैछ । तान्त्रिक विधिबाट आठ रात, नौ दिन सम्म मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व रहेको बिस्का जात्रा भक्तपुर नगरपालिका वडा नम्बर ५ टौमढीमा रहेको ङातापोल तथा भैरवनाथको मन्दिर परिसरमा निर्माण गरिएको भैरवनाथको रथ तानेर सुरु गरिन्छ ।
सूर्यमासअनुसार नयाँ वर्ष सुरु हुनु चार दिनअघि परम्परागत तान्त्रिक विधिअनुसार मनाइने बिस्का जात्रा सुरु हुन्छ । प्यागोडा शैलीमा बनाइएको तीन तले भैरवनाथको रथ तानेर बिस्का जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ । अहिले भैरवनाथको रथसँगै भद्रकालीको रथ सिंगार्ने काम भइरहेको गुठी संस्थान भक्तपुरले जनाएको छ ।
भैरवनाथको रथ तान्नुअघि रथको अगाडि बेताल विराजमान गराइन्छ । त्यस्तै मन्दिरमा रहेको भैरवनाथलाई बाजागाजाको सवारीसहित रथमा विराजमान गराइन्छ । यो कार्य सकिएपछि विधिवत् रुपमा रथ तानिन्छ । भैरवनाथको रथ तानेर सुरु हुने जात्रा वैशाख ५ गते विधिवत् सम्पन्न गरिन्छ । अन्तिम दिन भैरवनाथको रथलाई तानेर पाँंचतले मन्दिर अगाडि पुर्याएपछि बिस्का जात्रा सम्पन्न हुन्छ ।
तपाइँको प्रतिक्रीया