काठमाडौं, चैत्र २९ । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जना शेर्पाको ज्यान गएको छ ।
खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन जना शेर्पा आरोहीको मृत्यु भएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए ।
सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा हिमपहिरोमा परी मृत्यु हुनेहरूमा खुम्बु पासाङल्हामु गाउँपालिका ५ छेसोका ३२ वर्षीय तेम्बा तेन्जि शेर्पा, सोही स्थानका २२ वर्षीय लाक्पा रिता शेर्पा र ४५ वर्षीय बादुरे शेर्पा भनिने दा छिरि शेर्पा रहेका छन् । इम्याजिन ट्रेक प्रा।लि।बाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका बुधबार बिहान मृत्यु भएको हो ।
बिहान एक्कासी आएको पहिरोका कारण मृतकको शव खोंचमा पुरिएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको छ ।शव निकाल्न एसपीसीसीको टोली घटनास्थलमा गए पनि शवहरु खोंचमा भएका कारण उद्धार प्रयास असफल भएको छ ।
तपाइँको प्रतिक्रीया