काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेश र विदेशी भन्नेबित्तिकै राम्रो र नेपाली नराम्रो भन्ने मानसिकता त्यागेर मात्र राष्ट्रिय अर्थतन्त्रको निर्माण र समृद्ध नेपाल सम्भव हुने बताएका छन् ।
शनिबार बिहान गोकर्णमा बाह्रखरी मिडियाले आयोजना गरेको कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विदेशका अनुभव, शिक्षा र दृष्टान्तलाई बढी महत्व दिएर नेपाली विशेषता र मौलिकता नभुल्न सहभागीहरूलाई आग्रह गरेका हुन्।
कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘हामीले विश्व पढ्नैपर्छ, विश्वका अनुभव र दृष्टान्तहरू पनि पढ्नुपर्छ । तर त्यसभन्दा बढी नेपालको इतिहास पढ्नुपर्दछ । हाम्रो अर्थराजनीतिक चरित्र, हाम्रो विशेषता र मौलिकता पढ्नुपर्छ । हामीकहाँ विदेशी भन्नेबित्तिकै राम्रो, नेपाली चाहिँ नराम्रो भन्ने मानसिकता पनि देखिन्छ । यसले राष्ट्रिय अर्थतन्त्र निर्माण, समृद्धि र स्वाधीनतालाई सहयोग गर्दैन । विश्वका मोडेल र अनुभवहरू पढ्दै गर्दा हामीले हाम्रो आफ्नोपन पढौँ र सोहीअनुरूप नीतिहरू तय गरौँ ।’
संघीय लोकतान्त्रिक गणतन्त्रभित्र राष्ट्र निर्माण र समृद्धिको मार्गचित्र स्पष्टतापूर्वक राखिएको प्रधानमन्त्रीले बताए । कार्यक्रममा आर्थिक क्षेत्रका प्रतिनिधि र विज्ञहरू अर्थतन्त्रमा सुधार ल्याउन सरकारले गरेको पहल सकारात्मक रहेकोमा जोड दिँदै सहकार्यका आधारमा अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्ने बताएका छन् ।
तपाइँको प्रतिक्रीया