२०८२ जेठ २२ बुधबार

राशिफल

ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडे

काठमाडौं  : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार र मछिन्द्रले गोलरहित बराबरी खेलेका छन् । निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । यस बराबरीसँगै थ्री स्टार १२ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मछिन्द्र १२ खेलमा १७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यस्तै बुधबार नै च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले संकटा क्लबलाई ४–० गोल अन्तरले हराएको हो । सातदोबाटोको जितमा विलियम एसिडेउ र दीपक सिंह ठकुरीले दुई दुई गोल गरे । खेलको दशौँ मिनेटमा विलियमले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । १९ औं मिनेटमा विलियमले व्यक्तिगत दोस्रो गोल गर्दा सातदोबाटो २–० ले अघि रह्यो । खेलको ६८ औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई ३–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई ४–० को जित दिलाए । सातदोबाटोको यो छैटौं जित हो । सातदोबाटो १२ खेलमा २१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । संकटा १२ खेलमा १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।