२०८२ जेठ २५ शनिवार

राशिफल

सुदूरपश्चिम प्रदेश सरकार विस्तारबारे बालुवाटारमा छलफल

काठमाडौं  :  सुदूरपश्चिम प्रदेश सरकार विस्तारबारे बालुवाटारमा छलफल भएको छ । मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवा, माओवादी संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सदस्य ओमविक्रम भाटसहितले प्रदेश सरकार विस्तारबारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

छलफलका क्रममा प्रदेश सरकारलाई जति सक्दो चाँडो विस्तार गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी भएको प्रदेशसभा सदस्य ओमविक्रम भाटले जानकारी दिए ।

उनका अनुसार माओवादीले आर्थिक मामिला र भौतिक पूर्वाधार विकास मन्त्रालय नपाउने अवस्थामा तीन वटा मन्त्रालय पाउनुपर्ने विषयमा समेत कुराकानी भएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा सहभागी एक प्रदेशसभा सदस्यका अनुसार माओवादीका सांसदहरुले भौतिक पूर्वाधार वा आर्थिक मामिलामध्ये एउटा मन्त्रालय आफूहरुले पाउनुपर्ने माग गरेका थिए । तर मुख्यमन्त्री शाहले दुवै मन्त्रालयको जिम्मेवारी मन्त्रीले सम्हालिरहेका कारण दिन नसकिने बताएपछि तीन वटा मन्त्रालयको प्रस्ताव गरिएको थियो ।

एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले समेत बाँकी रहेका मन्त्रालयहरु न्यायपूर्ण तवरले व्यवस्थापन गर्न भनेका थिए भने आफ्नो पार्टीका प्रदेशसभा सांसदलाई अडानमा लचिलो बन्न आग्रह गरेका थिए ।

बालुवाटारमा भएको छलफल अनुसार सुदूरपश्चिम प्रदेशमा बाँकी रहेका तीन मन्त्रालय माओवादी र एउटा मन्त्रालय नागरिक उन्मुक्ति पार्टीले पाउनेबारे छलफल भएको थियो ।