२०८२ जेठ १८ शनिवार

राशिफल

प्रचण्ड, देउवा र ओलीबीचको भेटवार्ता सशंकित, प्रेम सुवालले सोधे- फिल्म देखाउन हो ?’

काठमाडौं :  नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणका दोषी जोगाउन प्रमुख तीन दलका शीर्षनेता लागेको भन्दै सांसदहरुले आशंका व्यक्त गर्न थालेका छन् ।

जसअनुसार मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा यस प्रकरणबारे बोलेका अधिकांश सांसदहरुले दोषी जोगाउने कार्य नहोस् भन्दै सरकारको ध्यानाकयर्षण गराए ।

ठाकुर गैरे, तेजुलाल चौधरी, डा तोसिमा कार्की, देवेन्द्र पौडेल, प्रेम सुवालसहितका सांसदले खबरदारी गर्दै दोषी जोगाउने कार्य नगर्न सरकारसहित सबैलाई आग्रह गरे । देवेन्द्र पौडेलले प्रधानमन्त्रीलाई कुनै पनि दबाबमा नपरेर यस घटनाको छानबिन गरेर दोषीलाई कानुनी कारबाही गर्न खुट्टा नकमाउन आग्रह गरे ।

नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भइरहेका भेटवार्ताप्रति दोषी जोगाउन हो कि भनेर आशंका व्यक्त गरेका छन् ।

मंगलबार पनि शीर्ष तीन नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरणबारे भएको छानबिन ट्रेलर मात्र भएको अभिव्यक्ति दिएका थिए । सोही प्रसंग जोडेर सांसदद सुवालले प्रचण्ड, देउवा र ओलीबीचको भेटवार्ता भ्रष्टाचारी र ठगीलाई कारबाही गरेको फिल्म देखाउनका लागि हो भनेर प्रश्न गरे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाई प्रोफाइल’ नेताहरु मुछिएपछि उनीहरुलाई जोगाउन खोजिएको हो कि भन्ने आशंका पैदा गराइरहेका बेला सांसद सुवालले सो प्रश्न गरेका हुन् ।

उक्त प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका छन् । रायमाझीका छोरा पक्राउ परी अनुसन्धान भइरहेको छ ।

साथै सोही प्रकरणमा कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनकी पत्नी मञ्जु, आरजु राणा देउवालगायतको नामसमेत मुछिएको छ ।