काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।
पार्टी कार्यालय च्यासलमा बसेको बैठकको पहिलो दिन बिहीबार संक्षिप्त मन्तव्यसहित अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको हो । बैठकमा मिसन ग्रासरुट अभियानको समीक्षा भएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । जसअन्तर्गत सुदूरपश्चिमका संयोजक लेखराज भट्टले, कर्णालीको सचिव योगेश भट्टराईले, कोशी प्रदेशको राजेन्द्र गौतमले रिपोर्ट प्रस्तुत गर्नुभएको उहाले बताउनुभयो । अन्य प्रदेशको रिपोर्ट शुक्रबार पेश हुने छ ।
बैठकले सचिवालय बैठकले गरेको निर्णयहरु अनुमोदन गरेको, केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्ष अमृत बोहराले सल्लाह सुझाव दिएको, अनुशासन आयोगका अध्यक्ष केशव बडालले सुझाव दिनुभएको र लेखा आयोगका अध्यक्ष पुष्प कँडेलले पनि आर्थिक प्रणालीको बारे जानकारी गराउनुभएको थियो भने केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष विजय सुब्बाले आयोगले गरेको कामकारवाहीका बारेमा जानकारी गराउनुभएको गुरुङले बताउनुभयो ।
त्यस्तै गुरुङले पुर्जी जारी भएपछि सचिव टोपबहादुर रायमाझी पार्टीको सम्पर्कमा नरहेको प्रष्ट पारेको भन्दै राज्यले गर्ने छानविन र अनुसन्धानमा सहयोग गर्नुपर्नेमा एमालेको जोड रहेको बताउनुभयो । बैठक शुक्रबार पनि बस्ने एमालेले जनाएको छ ।
तपाइँको प्रतिक्रीया