२०८२ जेठ १९ आइतबार

राशिफल

सरुवा र बढुवाका लागि नाजायज लाभ लिए जेल जानुपर्ला : गृहमन्त्री श्रेष्ठ

काठमाडौं  : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासन र अन्य क्षेत्रमा हुने सरुवा र बढुवाका लागि अनुचित लाभ नलिन आग्रह गरेका छन्। उनले एक कार्यक्रममा आज लाभ लिने र दिने दुवैलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।

पछिल्लो समय प्रहरी प्रशासनमा सरुवा र बढुवामा हुने लेनदेन बन्द भएको बताउँदै त्यसो गर्नेहरूलाई कारबाही हुने उनले प्रस्ट पारे। ‘सरुवा र बढुवाका लागि माथि लिने काम बन्द भयो । मन्त्रालयको कसैले लिएको थियो भने बन्द भयो। विचौलियाले पनि पैसा लिन्छन् भन्ने सुन्दैछु। खबरदार! कोही कसैले बढुवा र सरुवाको निम्ति नाजायज लाभ लिएको छ भने दिनेलाई पनि जेल हाल्छु, लिनेलाई पनि जेल हाल्छु,’ उनले भने।

मुलुक यसरी नचल्ने बताउँदै उनले जनतालाई यसरी नै शासन दिने हो भने सही नहुने बताए। आफूलाई निष्पक्ष राख्न खोज्दा विभिन्न अप्ठ्यारा आउने गरेको पनि श्रेष्ठले बताए।

रोजगारीका लागि परीक्षा दिनेहरूले सम्बन्धित निकायमा भनिदिनपर्‍यो भनेर दिनदिनै भन्ने गरेको पनि श्रेष्ठले सुनाए ।