२०८२ जेठ १९ आइतबार

राशिफल

सर्लाहीमा प्रहरी र गाउँलेबीच झडप, दुई प्रहरी घाइते

काठमाडौं, जेठ २५ । भारतबाट तस्करी गरेर ल्याएको रासायनिक मल नियन्त्रणमा लिन खोज्दा सर्लाहीमा गाउँले र प्रहरीबीच झडप भएको छ ।

आज दिउँसो ३ बजेतिर सर्लाहीको धन्कौल गाउँपालिका–६ बैरिया टोलमा गाउँले र प्रहरीबीच झडप भएको हो ।

झडपमा दुईजना प्रहरी घाइते भएका छन्, स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँचसेल अश्रुग्यास प्रहार गरेको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियारका अनुसार स्थानीय राजु सहनीको घरमा भारतबाट ठूलो मात्रामा रासायनिक मल ल्याएर राखेको सूचनाको आधारमा प्रहरी टोली पुगेको थियो । मल नियन्त्रणमा लिन प्रयास गरेपछि स्थानीयले ढुंगा मुढासहिले आक्रमण गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

गाउँलेको ढुंगामुढाबाट प्रहरी निरीक्षक सुमित कुशवाह र वरिष्ठ हबल्दार कन्हैया साह घाइते भएका छन् । दुबैजनाको टाउको र शरिरका विभिन्न भागमा ढुंगा लागेको डीएसपी पञ्जियारले बताए ।