काठमाडौं : सभामुख देवराज घिमिरेसँग नेपालका लागि ट्युनिसियाका गैरआवासीय राजदूत हयात तालबी ईपी बिलेलले भेटघाट गरेका छन् ।
सभामुखको कार्यकक्ष सिंहदरवारमा शुक्रबार भएको भेटमा उनीहरुबीच दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान, द्विपक्षीय व्यापार र पर्यटन प्रवद्र्धन लगायतका विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
भेटमा सभामुख घिमिरेले दूरीका हिसाबले ट्युनिसिया धेरै टाढा भए पनि दुई देशबीच कुटनीतिक र सहकार्य गरेर अगाडि बढ्न सकिने बताएका छन् ।
उनले अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाल र ट्युनिसिया दुवै मुलुकले साझा मामिलाहरुमा सहकार्य गर्दै आइरहेको बताए । सभामुख घिमिरेले नेपाल र ट्युनिसियाबीच पर्यटन, ऊर्जा र व्यापारका क्षेत्रमा वृहत्तर सहकार्य गर्न सकिने बताए ।
नेपालमा गएको वर्ष भएको तीनवटै तहको निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरु आएको स्मरण गर्दै सभामुख घिमिरेले नेपालको संसदले ट्युनिसियालाई हेर्ने गरी संसदीय मैत्री समूह गठनको तयारी गरेको जानकारी दिए ।
ट्युनिसियाका गैरआवासीय राजदूत बिलेलले नेपाल जस्तै आफ्नो मुलुक पनि लामो समय गृहयुद्धबाट बाहिर निस्किएको बताउँदै आगामी दिनमा गहिरो सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरे ।
ट्युनिसियाका सभामुख पनि नेपालका लागि संसदीयमैत्री समूह गठनको तयारीमा रहेको बताउँदै उनले संसदीय कुटनीति विस्तारमा जोड दिए । उनले सभामुख घिमिरेलाई आफ्नो मुलुक भ्रमणका लागि निमन्त्रणा समेत गरे ।
Newskarkhana.com
तपाइँको प्रतिक्रीया